वीरेन्द्र एलुम्नाई एसोसिएसन, काठमाडौं

पूर्व विद्यार्थी समाज, वीरेन्द्र मा. वि. चन्द्रगढी, झापा

ती दिन ताजै छन् - रत्नमणि नेपाल

Published on: Jestha 31 2081
Views
154
Share
ती दिन ताजै छन् - रत्नमणि नेपाल

ती दिन ताजै छन् - रत्नमणि नेपाल

Published on: Jestha 31 2081
Views
154
Share
ती दिन ताजै छन् - रत्नमणि नेपाल
मैंले कक्षा एक सम्म भोजपुरको शानिटार पढें । स्कुल जान घर पछाडिको बाटो हुँदै रातमाटेको उकालो उक्लिनुपथ्र्यो । हामी केटाकेटीका लागि त्यो उकालो निकै ठाडो थियो । रातो माटो भएकोले त्यसको नाम रातमाटे भएको थियो । तर त्यसको केही भाग चौर थियो । छेउछाउमा रुखका स—सना पोथ्राहरू  पनि थिए । हामी स्कुल जाने बाटो त्यहीमात्र थिएन । घरबाट तेर्सै तेर्सो कुटिडाँडामा निस्किएर अलिकति जंगलको बाटो हिडेपछि पनि शानिटार स्कुल पुग्न सकिन्थ्यो । हामी कहिले कुटिडाँडाको बाटो जान्थ्यौं र रातमाटेपट्टिबाट फर्किन्थ्यौं । कहिले त्यसको उल्टो हिड्थ्यौं । साथीहरू  धेरै थिएनन् । हाम्रै परिवारका दाजुभाइ थिए धेरै त । दाजुहरू  महेश्वर र गुणराज, भाइ खिलाराज, काका राजन, फुपु ललिता मिलेसम्म संगै जान्थ्यौं । अरु त म भन्दा अघिल्लो कक्षामा पढ्थे । तर भाइ खिलाराज भने मसँगै पढ्थ्यो  । छिमेकका साथीहरू  डम्वर पराजुली र सानुमा राई थिए । डम्बर निकै बलियो थियो । कहिलेकाहीँ उनीहरू  पनि संगै हुन्थे स्कुल जाँदा आउँदा । अन्य साथीहरू मा केवल रत्ना राईको सम्झना छ । ऊ हाम्रो घरदेखि पूर्वपट्टि राई बस्तीबाट आउँथी । ऊ सधैं झोला बोकेर आउने गर्थी । हरियो, सेतो, रातो र पहेंलो रङ्गको धागोले बुनेको हुन्थ्यो त्यो । छेउछेउमा फुल जस्ता सुन्दर थुंगा थिए । लामा फिता थिए । त्यो रङ्गिन झोला रत्नाको काँधमा झुण्डिएर प्रायः भुईं हेरिरहन्थ्यो । र, कुनै वेला त मेरा आँखासँग उसका आँखा जुधिहाल्थे । रत्ना अलिक अग्ली थिई । फ्रक र सेतो सर्ट लगाउने त्यो केटीको अनुहार गोरो थियो । अर्की सानुमा भन्ने साथी थिई । ऊ हाम्रो घरदेखि पूर्व पट्टिको हुलुवा खोलापारि घर भएका राईकी छोरी थिई । उसको कद होचो थियो । अनुहार गोलो र गोरो । हामी दुवै स्कुल जाने बाहेकका दिनमा पनि सँगै खेल्थ्यौं । केही साल अघि धरानमा भेटहुँदा हामी खुशीले लजाएका थियौं ।

खुशी त भोजपुर सम्झने वित्तिकै पनि हुन्छु । म खुशी हुँदा सायद त्यो रातमाटेको उकालो पनि खुशी हुन्छ होला । मेरो मन नाचे जसरी नै नाच्छन् होला कुटिडाँडाका वर पिपलहरू  । यतिवेला सायद हल्लिरहेका होलान् म झुण्डिंदा हल्लिने पाङ्ग्राका लहराहरू  । स्कुल छेउका लाली गुराँसका बोटहरू ले पर्खिरहेका होलान् मेरो स्पर्श । मेरा अनुपस्थितिमा त्यसै ओइलिरहेका होलान् चिलाउनेका पातहरू जसलाई म बाजा बनाएर प्याँप्याँ बजाउँथे । बाँसका पट्याँसमा बसेर चिप्लेटी खेल्ने ती ओरालीहरू  सम्झन्छु । कटुसका तीखा काँडाहरू  सम्झन्छु । हरपल तिरिरिरी चिसो पानी झरिरहने बाँसको धारो सम्झन्छु । र, सम्झन्छु रातो माटोको धुलो जसको जुत्ता बनाएर म लगाउँथे । र, बच्थें काँडाको डसाइबाट । त्यो धुलो मेरा गोडामा लगाउने पाइन्ट थियो र हातका पञ्जा पनि । त्यो धुलो मेरो दौराको बुट्टा थियो र सानुमाका गालाको पाउडर पनि ।

हामी स्कुलबाट फर्किंदा कुटिडाँडामाथि अमलाका बोटमा केहिवेर अल्मलिन्थ्यौं । केही समय गोगनका रुख र हाँगाहरू मा बित्थ्यो । बान्वा खोलातिरका मच्छाइनुसँग हामी इत्रिएर बस्थ्यौं । आज मेरो मुखमा रसाउने मीठो स्वाद तिनै अमला, गोगन र मच्छाइनुको स्वाद हो । आज मेरो नाकबाट बग्ने चिप्लो पानी मैंले त्यही वेला खाएका गोगन फलको रस हो । अहिले मैंले लेख्ने अक्षरहरू  त्यही शानिटार स्कुलको आँगनको धुलोबाट उठाएर ल्याएको हुँ । पढ्दाखेरि सिलोटमा क ख अ आ लेखेको, धुलोमा १ २ र ब् द्य लेखेको सम्झँदा आज पनि मेरा नसा फुलेर आउँछन् ।

त्यसो त चन्द्रगढीको कलवलगुरी प्रावि पनि मेरा अनेक एकान्तको प्रिया हुनसक्छ । त्यहाँ विताएका तीन वर्ष मेरा लागि तीसौं कथाका प्लट बन्न सक्छन् । हामी टिफिनको आधा घण्टा भित्रै देवनिया खोलाको भेलमा बाँकटे हानेर फर्किसक्थ्यौं । लगाएका सबै कपडा खोलेर पौडी खेलेपछि ती भिज्ने कुरै भएन । खोला जाँदा बाटोमा जंगल पर्थ्यो । त्यहाँ बाँदरहरू को विशाल वस्ती नै थियो । एउटी दुइटी सुन्दरीसँग आँखा नजुधाई त खोला पुग्नै नसकिने । कुनैकुनैले त झम्टिएर प्रेम गर्नखोज्थे । जंगलको वीचमा एउटा काली मन्दिर पनि थियो । त्यहाँ एकजना साधु बस्थे । ती साधु सायद बाँदरका ज्वाइँ भएकोले ससुरालीमा बसेका थिए होला । नभए उनलाई जंगलको वीचमा एक्लै बस्ने साहस कहाँबाट आउँछ ?

दुधफलका बोटमा पँहेलै फल पाकिरहेका हुन्थे । सकेको चढ्थ्यौं र टिपेर खान्थ्यौं । अलिअलि त म पनि सुरिला बोटहरू  चढ्थें । तर राम्रोसँग चढ्थ्यो बाबुराम । ऊ त सुपारीका बोटमा पनि सुरुरु चढ्थ्यो । नरिवल टिपेर खुवाउने उही हुन्थ्यो । गाउँमा चौथी हान्नेदिने ऊ भएन भने हामीले घरघरका आँगन बिगार्नु बाहेक उपाय हुदैनथ्यो । हामीले फुटबल खेल्दा मेसीले जस्तो छक्याउँथ्यो धन बहादुर काफ्ले । रोनाल्डोले जस्तो किक हान्थ्यो दोर्जे लामा । नेयमारले जस्तो पास दिन्थे चन्द्र थापा, प्रकाश दाहाल र शिव चौहान । हामीले गीत गाउँदा एआर रहमानले जस्तो टाउको हल्लाउँथ्यो ढकेन्द्र खतिवडा । जाकिर हुसैनको जस्तो तबला बजाउँथ्यो तुलसी कार्की । जेनिफर लोपेजको जस्तो स्वर निकाल्थे रेजिना, बबिता र दीपिकाहरू  । हामी एक्का दुक्की खेल्थ्यौं । ढुङ्गाले लागेर गोडाका नङ भाचिन्थे तर रमाइलै हुन्थ्यो । आसपास नखेलेको दिन देवनीयाका कमल सुवेदी र जंग बहादुर रोक्का गनगन गर्न थाल्थे । कलको पानी पिइसकेपछि छ्यापाछ्याप गरिएन भने पुष्पराज र मुन्ना शर्मा रिसाउँथे । भेटाभेटी खेलिएन भने स्कुल छुट्टि भइसकेपछि शंकर नेपाललाई बोलाएर परमेश्वर न्यौपानेको घर अगाडि तिर्सना मेट्थ्यौं ।
दिनभरि स्कुलमा संगै पढ्ने हामी घर फर्कंदा भने झगडा नगरि फर्कन्नथ्यौं । हाम्रो टोल र काफ्ले टोलका साथीभाइबीच सधैंजसो झगडा हुने गथ्र्यो । एउटा एउटा टिममा सामेल हुन देवनीयाका चन्द्र थापा, जंग बहादुर रोक्का र केन्द्रका सुवास दाहालसमेत आइपुग्थे । हाम्रो टोलीको नाइके थिए लक्ष्मी पोख्रेल । अर्को टोलीको नेता धन बहादुर काफ्ले । ‘शुरु’ भनेपछि झगडा शुरु हुन्थ्यो । झगडा गर्ने एक किसिमको नियम थियो भने पनि हुन्छ । कुन ठाउँमा हान्न पाइने, कुन ठाउँमा हान्न नपाइने, के ले हान्ने के ले नहान्ने आदि नियम बनाइएका थिए । म भने झगडामा अहिलेजस्तै कुशल थिइँन । उभिइरहेका वेला कताबाट माटोको डल्लो आइपुग्थ्यो र मेरो निधारमा बजारिन्थ्यो । दाया फर्केका बेला वायाबाट कसैले अघिनै हिर्काइसक्थ्यो । म धेरै कुटाइ नै खान्थें । हाम्र्रो टिमका नाइके लक्ष्मी पोख्रेल चाहिँ सबैलाई पिट्थे । बाँकी सबैले नै थोरबहुत पिटाइ खान्थ्यौं । हाम्रो टिममा प्रहरी हवल्दारकी छोरी थिइन् दीपिका घिमिरे । उनले पिताजीको घँघरुको लठ्ठी ल्याएपछि भने हाम्रा विपक्षीहरू  अलि डराउँथे ।
 
स्कुल छेवैको सहकारीबाट आउने पाचक र दालमोठको बास्नाले मलाई अझै भोक लगाइरहन्छ । सुवाइको दोकानमा किनेको कोकिस मेरा हातमा अझै छ जस्तो लाग्छ । टिफिनमा खाएको कलको पानीको गन्ध मेरो सासमा मिसिएकै होला । मेरा दाँतका कापामा ठूलो कदम आज पनि टाँसिइरहेको हुनसक्छ । लाग्छ स्कूल छेवैमा बढहरका पाकेका पहेंला दानाले मलाई पर्खिरहेकाछन् । के ती दुधफलका हरिया दाना मेरो अनुपस्थितिमा कहिल्यै पाके होलान् ? मलाई शंका लाग्छ । के त्यो एशियामै दुर्लभ कलवलको रुख यो साँझ पनि हल्लिरहेकै होला ? कसले औषधी दिइरहेको होला ती बुढा भएका वर र पीपलका बोटहरू लाई ? कोही होला यो जाडोमा उनीहरू लाई न्याना कपडा लगाइदिने ? सम्झँदा मेरो छातीमा कस्तो ऐंठन भएर आउँछ । 
मेची रङगशालामा ठूलाठूला कार्यक्रमहरू  भइरहन्थे । कहिले राजा रानीको सवारी हुन्थ्यो । कहिले रिटिङ्मिटिङ् भन्ने खेलकुदको कार्यक्रम हुन्थ्यो । मुनाल क्लवले आयोजना गर्ने फुटवल प्रतियोगिताहरू  पनि भइरहन्थे । हामी स्कुलबाट जान्थ्यौं । म प्रायः व्यानर बोक्ने र नारा भट्याउनेमा पर्थें । ‘हाम्रो राजा हाम्रो देश’, म भट्याउँथे । बाटाका छेउमा लाइनमा हिडिरहेका साथीहरू  भन्थे, ‘प्राण भन्दा प्यारो छ’ । म भन्थें ‘पञ्चायत व्यवस्था’, साथीहरू  खाप्थे, ‘अमर रहोस्’ । शिक्षा दिवसमा हुने कार्यक्रममा होस् या राजा रानीका जन्मोत्वसबमा । हाजिरी जवाफ प्रतियोगिता या खेलकुद । स्कुलबाट भाग लिने मध्ये म पनि हुन्थें ।

छ कक्षा देखि वीरेन्द्र मावि जान थालियो । त्यहाँ चन्द्रगढीदेखि भद्रपुर, देवनिया र पाराखोपीसम्मका विद्यार्थीहरू  पढ्न आउँथे । चन्द्रगढी पढ्न थालेपछि साथीहरू को पनि दायरा फराकिलो भयो । अब उमेर र साथी अनुसारका काम हुन थाले ।

विहान उठ्ने वित्तिकै कि त पढ्ने लेख्ने काम हुन्थ्यो कि गाई भैंसीलाई खोले पकाउने । अनि कहिले काँहि त विहानै खाप खेल्न निस्कन्थें । गुच्चा र डण्डिवियो पनि खेलिन्थ्यो । सवा नौ बजेपछि स्कुल जाने बेला हुन्थ्यो । घरबाट स्कुल जाने बाटो साँघुरो थियो । पानी परेको बेला हिड्न समेत मुश्किल हुने । प्रायः सबै एउटै स्कुल पढ्ने हुनाले घरबाट निस्कने समय पनि एउटै पथ्र्यो । जब वीरेन्द्र मावि पढ्ने विद्यार्थी घरघरबाट निस्कन्थे बाटो निकै रङ्गिन देखिन्थ्यो । केटाहरू को पोशाक सेतो सर्ट र निलो पाइन्ट थियो । आठ कक्षासम्म पढ्ने केटीहरू ले सेतो सर्ट र निलो फ्रक नै लगाउँथे । तर नौदेखि माथि पढ्ने केटीहरू ले चाहिँ रातो पारी भएको सेतो सारी लगाउँथे । यसरी विभिन्न पोशाक लगाउने विद्यार्थीहरू  बाटोभरि छरिएर हिड्दा बाटो रङ्गिविरङगी देखिन्थ्यो । हरेक घरबाट एक दुई जना थपिने हुन्थे । लेखनाथ चोकसम्म आइपुग्दा विद्यार्थीहरू को एउटा कोलाज जस्तो बन्थ्यो । स्कुलको गेटबाट छिर्दा कुनै जुलुश एउटा सभ्य परिक्रमा पश्चात सभा हलभित्र प्रवेश गरेजस्तो देखिन्थ्यो ।

त्यो समय भारतीय टेलिभिजन च्यानल डिडिवान मात्र प्रशारण हुन्थ्यो । हामी वीरेन्द्र मावि पढ्न शुरु गरेपछि नै त्यो डिडिवान च्यानलबाट माहाभारत सिरियल प्रशारण हुन थाल्यो । आइतवारका दिन नौ बजेदेखि आउँथ्यो त्यो । सबैका घरमा टेलिभिजन थिएन । टेलिभिजन हुने सबैले हेर्न दिंदैनथे । अनि एकादुई घरमा मात्र भिड लाग्थ्यो । घरघरबाट हजुरबा, हजुरआमा, बुबा आमा, काका काकी, दाजु भाउजु सबै माहाभारत हेर्न निस्कन्थे । स्कुल हिडेका सबै टेलिभिजन हुनेका घरघरमा छिर्थे । सरहरू  त्यहीँ हुन्थें । विद्यार्थीहरू  पनि त्यहीँ । माहाभारत सकिन्थ्यो सवा दश बजेतिर । अनि मात्र सबै काममा लाग्थे । चोकका दोकान, ठाकुरका सैलुन, मिठाइका पसल त्यसपछि मात्रै खुल्थे । अनि हाम्रो स्कुल पनि लाग्थ्यो । माहाभारत नसकिउञ्जेलसम्म आइतबारका दिन हाम्रो स्कुल साढे दशबजेदेखि मात्र लाग्यो ।

कक्षा शुरु हुनुभन्दा अगाडि सरस्वतीको प्रार्थना गर्नुुपथ्र्यो । त्यो सकिएपछि राष्ट्रिय गान श्रीमान् गम्भिर नेपाली.... गाउने चलन थियो । ....सालसम्म त हट्ने होइन डटी लड्ने नेपालीको बानी हुन्छ...गाउने चलन पनि हटेन । कक्षा कोठामा बस्ता हाम्रो ध्यान कतिखेर सर निस्कनुहुन्छ भन्ने हुन्थ्यो । एकजना सर निस्किएर अर्को नपसुञ्जेलसम्म हामीलाई शनिवार आएजस्तो भइहाल्थ्यो । कोही सिनेमाका कहानी साथीलाई सुनाउन आतुर हुन्थे । कोही भने अघिल्ला बेञ्चमा बस्ने साथीहरू को पाइन्टमा कागजका पुच्छर बनाएर घुसार्न थाल्थे । कागजका हवाइजहाज बनाउन जान्नेहरू  ढिलो नगरी त्यो कामतिर लागिहाल्थे । कोही केटाहरू  पिस भन्न खप्पिस थिए । कसैकसैले बिनाकारण हानाहान गर्न पनि भ्याउँथे । पछाडिको बेञ्चमा बस्ने केटाहरू  गीत गाउन थाल्थे । अक्सर ती गीतहरू  अर्को पट्टि बस्ने केटीहरू  तर्फ लक्ष्यित गरिएका हुन्थे ।

स्कुलमा हरेक शुक्रवार अतिरिक्त क्रियाकलाप गरिन्थ्यो । फुटबल र भलिबलमा भाग लिने हुन्थे ।  कोही दौड र लङजम्पमा भाग लिने हुन्थे । छेलो हान्ने पनि खेलाइन्थ्यो । कविता वाचन, निबन्ध लेखन, गायन जस्ता क्रियाकलाप पनि हुन्थे । हामी केही साथीहरु शारिरीक क्षमता देखाउनु पर्ने क्रियाकलापका लागि स्वतः अयोग्य थियौं । अनि हाम्रो भागमा पथ्र्यो गाउने र लेख्ने । छ कक्षादेखि नै कविता लेख्न थाल्यौं हामीले । नौ कक्षामा पढ्दा म, कृष्ण अनमोल, राजु बराल, दामोदर अधिकारी र रमेश पराजुली मिलेर भित्ते पत्रिका पनि निकाल्यौं । नौलो विहानी नामको उक्त भित्ते पत्रिका वीरेन्द्र माविको इतिहासमै पहिलो थियो । दश कक्षा पढ्दा त हाम्रो नक्कल गरेर सी सेक्सनका मदन सुव्वालगायतका साथीहरुले टेन सी बबाल नामको अर्को भित्ते पत्रिका निकाले । दुवै पत्रिका बीच प्रतिस्पर्धा हुनेगथ्र्यो । हामीले छोडेपछि त्यो पत्रिका डिजन भट्टराई, रविन राई लगायतका भाइहरुले निकाले ।

त्यो बेलाको हाम्रो शैलीमा हिन्दी फिल्मको खबै प्रभाव थियो । सञ्जय दत्तले सडक फिल्ममा राखेजस्तो टाउकाको पुछारमा लामो कपाल राख्ने केटाहरू  धेरै हुन्थे । कोही आगाडि अलिक लामो कपाल छोड्थे र मैने प्यार किया फिल्ममा सलमान खानले जस्तो वेलावेला कपाल हल्लाउँथे । फुल और काँटे को अजय देवगणको शैलीमा कपाल काट्ने केटाहरू को पनि कमी थिएन । कुनै केटाको शैली दिल फिल्मको आमिर खानको जस्तो । कसैको दिवाना फिल्मको शाहरू ख खानको जस्तो । यता केटीहरू को शैली पनि कम हिरोइन थिएन । कोही केटीहरू  मैने प्यार किया फिल्मकी भाग्यश्रीको जस्तो पोजमा बस्थे । उनीहरू को कपाल पनि त्यस्तै हुन्थ्यो । कसैको कपाल सडक फिल्ममा पुजा भट्टले राखेको जस्तो अगाडि झारेर कोरेको हुन्थ्यो । केटीहरू ले हेड्विन लगाउँथे भने त्यसमा कुनै फिल्मकै प्रभाव हुन्थ्यो । कुनै केटीले चाहिँ जुही चावलाले झैं दुई चुल्ठा कपाल बाटेर आउँथे । धेरै कम केटी हुन्थे जसले नेपाली फिल्म चिनाकी हिरोइन श्रृष्टी केसी या सपना की करिश्मा मानन्धरले जस्तो कपाल बनाउँथे । कक्षामा गीत गाउनु पर्दा समेत तत्काल चलेका हिन्दी फिल्मका गीतहरू  गाइन्थे । त्यतिवेलाका प्रचलित गीत थिए दिल दिवाना...हमने घर छोडा हे....धिरेधिरे प्यारको बढाना हे...कोही ना कोही चाहिए प्यार करने वाला,...तुमसे मिलनेको दिल करता हे,...हे मेरी हमसफर... ।

हिन्दी फिल्मको प्रभाव त केटाकेटीको प्रेम गर्ने शैलीमा पनि झल्कन्थ्यो । कुन केटाले कुन केटी मन पराएको रहेछ भन्ने बुझ्न स्कुलका भित्ता हेरे पुग्थ्यो । अथवा ट्वाइलेटका भित्ताले पनि त्यो अवसर दिन्थे । भित्ताभरि केटा र केटीका नाम लेखेर जोड घटाउ गरिएको हुन्थ्यो । कुनै केटीको नाम त दुईतीन जना केटाको नामसँग जोडजाड पारिएको हुन्थ्यो । केटाहरू  राम्री केटीलाई ‘च्वाँक’ भन्ने शब्द प्र्रयोग गर्थे । ‘हिरोइन’ पनि भन्ने गरिन्थ्यो । राम्रा केटालाई केटीहरू ले ‘हिरो’ या ‘हेण्डसम’ भन्थे । प्रेमी प्रेमिकाहरू  टिफिनमा पानी खान संगै निस्कन्थे । छोला र चटपटे संगै खान्थे । प्रायः केटाले पैसा तिर्नुपथ्र्यो । प्रेमी प्रेमिकाले एक अर्कालाई सिधासिधी हेर्दैनथे । छड्के हेराइ मात्र हुन्थ्यो । एक प्रकारले बेलाबेलाको आँखा जुधाइमात्र । यस्तो क्रियालाई ‘साइड खेल्ने’ भनिन्थ्यो । केटा र केटी दुवैको कोही न कोही एक जना साथी अनिवार्य हुने गथ्र्यो । त्यस्ता साथी दुवैका सहयोगी हुन्थे । तिनीहरू ले चिठी आदानप्रदान गरिदिन्थे । या आजकलको भाषामा डेटिङ्को समय र स्थान मिलाइदिन्थे । प्रेम प्रस्ताव गर्ने प्रचलित माध्यम पोष्टकार्ड हुन्थ्यो । नयाँ वर्ष आएपछि फेन्सी पसलमा हिन्दी सिनेमाका हिरो हिरोइनका तस्विर भएका पोष्टकार्डको व्यापार विचित्र ढंगले बढ्थ्यो । ग्राहकहरू  अधिकांश विद्यार्थीहरू  हुन्थे । ती पोष्टकार्डमा रातभर मिहेनत गरेर सायरी लेखिन्थ्यो । अनेक रङ्गले फुलबट्टा भरिन्थ्यो । एकातिर पठाउनेको अर्कोतिर पाउनेको नाम लेखिन्थ्यो । अनि दिइन्थ्यो मन परेका साथी साथिनीहरू लाई । केटाकेटीले एकअर्कालाई दिनु पर्दा बडा सकस पर्दथ्यो । मन मुटु सबै कसिएर आउँथ्यो । तर केटा केटा वीच या केटी केटी बीच सजिलै पोष्टकार्ड आदानप्रदान हुन्थ्यो ।

केटाकेटीका बीच हुने प्रेमको निहुँमा हप्ताहप्तामा झगडा भइरहन्थ्यो । प्राय गरेर केटीका दाजुभाइले आफ्ना दिदी बहिनीका प्रेमीलाई स्कुल भित्रै आएर पिट्थे । यस्ता प्रकारण पनि हिन्दी सिनेमाको प्रभावबाट गुज्रन्थे । त्यसरी पिट्न आउँदा एउटा टोली नै आउँथ्यो जसलाई ‘ग्याङ्ग’ भनिन्थ्यो । कुनै सन्दर्भमा भने केटीलाई मन पराउने दुई जना केटाका ‘ग्याङ्ग’ बीच ‘फाइट’ पर्दथ्यो । हामी पढ्ने समयमा वीरेन्द्र माविमा यस्ता घटनाहरू  भइरहन्थे ।

विद्यार्थीले टिफिन समयमा खाने खाजा विशेष हुन्थ्यो । धेरैले चटपटे खान्थे । नामजस्तै त्यसको बनावट र स्वाद पनि चटपटेजस्तै हुन्थ्यो । काँचो चना र मटर, तित्रीको अमिलो, अलिकति तोरीको तेल, प्याज र खुर्सानी मिलाएर प्लाष्टिकको लामो ग्लासमा मोलमाल पारेपछि चटपटे तयार हुन्थ्यो । त्यतिको दाम जम्मा एक रुपैया मात्र । पचास पैसाको पनि पाइन्थ्यो । बाँकी खानेहरू लाई पनि सुविधा उपलब्ध हुन्थ्यो । कागजमा राखेर आँपका पातको चम्चाले खाइन्थ्यो । कसैले चाहिँ भुटेका चना, मटर या भटमासको चटपटे मन पराउँथे । कसैले काँचो चना र मटरको । तित्रीको कडा अमिलो र खुर्सानीको पिरो जिव्रोमा परेपछि सासले निलिन्थ्यो । सायद त्यसको स्वादकै कारण हुनुपर्छ लिला खतिवडा सर ‘चटपटे खाएर तिमेरु फटफटे भ’का’ भन्नुहुन्थ्यो । अर्को खाजा थियो छोला । छोलाको स्वाद पनि बिचित्रको थियो । सेतो मटर पहेंलो बेसनमा पकाएर लेदो बनाइन्थ्यो । त्यो लेदोमा प्याज, खुसार्नी र अमिलो हालेपछि छोला बन्थ्यो । यसको स्वाद पनि कम ‘चटपटे’ हुदैनथ्यो । एक प्लेट छोला एक रुपैयामा पाइन्थ्यो । आधा प्लेट खानेलाई पचास पैसा खर्च गर्नुपथ्र्यो । एकदुई हप्तालाई बाँकी पनि खान पाइन्थ्यो ।

खाजा खाँदा वरफ नखाने कमै मात्र हुन्थे । पानी बरफ दश पैसा, दुध वरफ चारआनामा पाइन्थ्यो । बरफमा सिन्का राम्रोसँग अड्किएको रहेनछ भने त्यो एकैछिनमा भुइँमा खस्तथ्यो । धेरैले त्यसलाई टिप्थे र हातले समाउँथे । एकैछिनपछि पग्लिएर त्यसमा टाँसिएको फोहोर झर्दथ्यो । अनि चुस्न थाल्थे । अलिक कम पैसा हुनेहरू  चाकु खान्थे । तित्रीको अचार पनि बेच्न राखेको हुन्थ्यो । त्यहाँ केटीहरू को गुड लागिरहन्थ्यो । एकछेउमा ढुङ्ग्री, प्याजी र पापड पनि विद्यार्थी पर्खेर बसेका हुन्थे ।
 
वीरेन्द्र मावि पढ्ने सबै विद्यार्थीहरू  खाजा खाने पैसा भएका हुँदैनथे । जोसँग पैसा हुँदैनथ्यो ती स्कुल पछाडिको एउटा नीजि घरको कलमा पानी पिउँथे । कोही छोला र बरफ बेच्नेको छेवैमा गएर हेरेर बस्थे । या, साथीहरू सँग खेल्न जान्थे । निकै थोरै विद्यार्थीहरू  थिए जो नजिकका होटलमा गएर दुई रुपैयाको समोसा तरकारी खाने गर्थे ।

मेरा आँखामा ती दिनहरू  सिनेमाको रिलजस्तै घुमिरहन्छन् । जब लाग्छ मध्यदिनको भोक त्यही छोलाको याद आउँछ । कहिं गएर अमिलो पीरो खाँदा जिव्रोले त्यहीं खाएको चटपटेको स्वाद खोज्छ । आज के गर्दै होला छोला बेच्ने बुढो ? कहाँ होला चटपटेवाला बसन्ती ? के चाकु बेच्ने दाइले यसबेला पनि बजाइरहेको होला त्यो डमरु ? धुमिल धुमिल स्मृतिहरू  उनीहरू लाई नै खोज्दै चन्द्रगढीतिर पुगिरहन्छन् । आज पनि बाटोमा हिड्दा स्कुलभित्रबाट कुनै साथीले बोलाइरहेकोजस्तो लाग्छ । जब कतैबाट आएर शितल बतासले स्पर्श गर्छ म सम्झन्छु स्कुल वीचमा हल्लिइरहेका वरपीपलहरू लाई । अनेक संघर्षका बाछिटाले जब शरिर थकान खोज्छ मेरा लागि कदमका बोटहरू  हाजिर हुन्छन् । निर्जन एकान्तमा बसिरहेको बेला स्कुलको कल्याङ्मल्याङ्ले मलाई जागा बनाइरहन्छ । हरेक कोलाहलका बीचबाट एउटा गहिरो स्वर मेरा कानमा गुञ्जिरहन्छ । त्यो स्वर मेरा उनै कृष्णजस्ता साथीहरू को हुन्छ जो मजस्ता सुदामा साथीलाई आफुलाई भन्दा बढी प्रेम गर्दथे ।

कामना छ कहिल्यै हेर्नु नपरोस् ऐना । र, काटिरहन पाइयोस् स्कुलकै यी दिनहरू  ।

Any question?


वीरेन्द्र एलुम्नाई एसोसिएसन, काठमाडौं logo
Address
Kathmandu-7, Chabahil, Nepal
Phone
+977 9851009148
Email
alumnibirendra@gmail.com

About us

वीरेन्द्र एलुम्नाई एसोसिएसन, काठमाडौँ वीरेन्द्र माध्यमिक विद्यालय, चन्द्रगढी, झापाका पूर्व विद्यार्थीहरुको संगठन हो । पूर्व विद्यार्थीहरु बीच समन्वय गरी एकता कायम गर्नु, एक आपसमा परस्पर हित प्रवद्र्धन गर्नु र वीरेन्द्र माविको व्यवस्थापन सँग सहकार्य गरी विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय सुधारमा सहयोग गर्नु यस एलुम्नाईका उद्देश्यहरु रहेका छन् । यी उद्देश्यहरु पुरा गर्न संस्थाले विविध कार्यहरु गर्दै आएको छ । वि सं २०५७ सालमा स्थापित यो संस्थाले २०७२ सालमा नेपाल सरकारको ऐन बमोजिम औपचारिक मान्यता पाएको छ । परिणामस्वरुप स्थापनाकालदेखि समय समयमा गर्दै आएका कार्यक्रमहरुले पछिल्लो समयमा स्थायित्व पाउँदै गएका छन् । साथै थप नयाँ कार्यक्रमहरुले पनि संस्थाभित्र प्रवेश पाएका छन् ।
Follow us

Subscribe us

Please enter your email address to get latest updates on our activities.


© 2024 | वीरेन्द्र एलुम्नाई एसोसिएसन, काठमाडौं | All rights reserved
Powered by OIT