वीरेन्द्र एलुम्नाई एसोसिएसन, काठमाडौं

पूर्व विद्यार्थी समाज, वीरेन्द्र मा. वि. चन्द्रगढी, झापा

चाकुवाला दाई, साँधेको भात र म - राजन न्यौपाने (२०४८ एस. एल. सी. ब्याच)

Published on: Bhadra 10 2081
Views
284
Share
चाकुवाला दाई, साँधेको भात र म - राजन न्यौपाने (२०४८ एस. एल. सी. ब्याच)

चाकुवाला दाई, साँधेको भात र म - राजन न्यौपाने (२०४८ एस. एल. सी. ब्याच)

Published on: Bhadra 10 2081
Views
284
Share
चाकुवाला दाई, साँधेको भात र म - राजन न्यौपाने (२०४८ एस. एल. सी. ब्याच)
 “मामु हिजो मेरो टिफिन जाम पाउरोटी थियो, अव आज त केकको पालो है” कक्षा ३ मा पढ्ने छोरी दिग्यता स्कुल जाने तयारीमा मामुलाई सम्झाउदै थिइन, म आफ्नो हातमा रहेको मोवाइल चलाउदै थिएँ, छोरी मेरो नजिकै आएर सोधिन “बाबा, हजुर स्कुल जाँदा के टिफिन लगिसिन्थ्यो” यति प्रश्न गर्दै छोरी पल्लो कोठामा ब्यागमा पुस्तकहरु हाल्न थालिसकेकी थिइन । मलाई भने छोरीका ति प्रश्नले आज भन्दा झण्डै ३०।३१ वर्ष अघिका घटनाहरु आँखा वरिपरि नाच्न थालिसकेका थिए ।

 “बाबु, भरे स्कुलवाट आएपछि चुलामाथी छोपेर राखेको भात साँधेर खानु है, हामी खेतमै हुन्छौ होला” आमाले यति भनेपछि म खाना खाएर फितावाला निलो रंगको हाफपेन्ट र सेतो सर्ट लगाएर गाउँका सबै साथीहरुसँगै मिलेर विद्यालय जान्थ्यौ । विद्यालयमा एक पटक टिफिन हुन्थ्यो, टिफिन अर्थात खेल्ने समय, हामी टिफिनलाई खेल्ने समयको रुपमा बुझ्दथ्यौँ । आमाले हातले सिलाइदिएको कपडाको फितावाला झोलामा राखिएका पुस्तकहरु वेन्चमाथी राखेर सवैजना चउरमा खेल्न जान्थ्यौ : भेटाभेटी, छेकाछेकी, रुमाल लुकाई इत्यादि । सातौँ घण्टी पश्चात हा.. हा.. र हु.. हु.. गर्दै जव छुट्टी हुन्थ्यो अनि सवै साथीहरु हुलकाहुल वाटो सेताम्मै पार्दै सवै आ–आफ्नो घर आउथ्यौं, घरमा आमाले राखिदिएको चुला माथीको भातमा अलिकति तेल र नुन हालेर साधेर खान्थ्यौ, आहा ! त्यो साँधेको खाजा भात कति मिठो हुन्थ्यो । त्यसो त सधै हामी साँधेको भात मात्र खादैनथ्यौं, कहिले काही चिया र भात पनि हुन्थ्यो, त्यो निस्तो भातको चिसो चोइलो माथी चिया हालेर हातवाट तररर चुहाउँदै खाँदाको मज्जानै भिन्नै हुन्थ्यो । 

मलाइ सम्झना छ उसवेला कहिले विद्यालय छुट्टी होला र घरमा खेलौँला भन्ने कहिल्यै हुँदैनथ्यो, सधै विद्यालय लागिरहे जस्तो लाग्थ्यो। हाम्रो लागि सवभन्दा ठुलो पर्व सरस्वती पुजा हुन्थ्यो, त्यो दिनलाई स्वागत गर्न हामी औँला भाचेर गनेर बस्थ्यौं । श्रीपञ्चमी आउनु अगाडि नै सरहरुले रु. ५ ल्याउनलाई सवैलाई हुकम जारी गर्नुहुन्थ्यो, अनि हामी सवैले त्यो आदेशलाई जस्ताको तस्तै पालना गरी २ दिन अगावै मनिटर मार्फत रकम जम्मा गर्ने गर्थ्यौँ । भोली सरस्वती पुजा छ आज वेलुका देखिनै हामीमा कतिवेला विहानै उठेर त्यहाँ जाने भन्ने मनमा भइरहन्थ्यो । भोलि पल्ट विहानै पुस माघको चिसोमा पनि चिसो नमानी नुहाइधुवाइ सकेर घरमा भएको पुस्तकको अघिल्लो पानामा भएको सरस्वतीको चित्रमा श्रद्धाले पुजा गरिसकेर विद्यालय जान हतारिन्थ्यौ , त्यो कागजको सोलिमा हालेको लाम्चे वयर , मुरै र बुनिया खानलाई विद्यालयको ठुलो हलको स्टेजमा माथीपटी सदानन्द सरले पुजा गर्नुहुन्थ्यो र त्यसपछि अरु सर , दिदिहरुले प्रसादी बाड्नु हुन्थ्यो , प्रसादी खान सारै भिड हुन्थ्यो । कहिलेकाहीँ त दुइवटा सोली समेत भेटिन्थ्यो, त्यो सोली भित्रको मेवाको चना र बुनिया साह्रै मिठो हुन्थ्यो । मलाइ अझै सम्झना छ : स्कुल चौरको विचमा अग्लो बाँस बाँसको टुप्पोमा माइक अनि बाँसवाट डोरी बाँधेर स्कुलका कुना कुनामा रंगीन कागजहरू टाँसेर विद्यालयलाई नै रंगी चंगी पारेको, अनि माइकवाट गाना घन्किरहेको अहिले जस्तो लाग्छ 
           देखा मैने देखा हे तो एक सपुना 
           फुलोकी शहरमे घर अपना 
           यार मै आई, तु कहाँ हे 
            मै आइ आइ आइ आइ ........आजा 

ओहो ! गाना सुन्दै चौरमा भेला भएर जिब्रो फट्कारी फट्कारी वयर टोक्दा कति मज्जा आउँथ्यो, ब्याख्या गरेरै सकिन्न, लाग्थ्यो त्यो सरस्वती पुजा महिनै पिच्छे आएनी हुन्थ्यो । 

विद्यालयमा खाजा खाने सन्दर्भमा मलाई अर्को पनि घटना संस्मरणमा छ । छुट्टीको दिन घरमा रहेका बाख्राहरुलाई खेतमा लगेर चराएर ल्याए वापत आमाले १० पैसा दिनु हुन्थ्यो, २ पटकको २० पैसा भएपछि हामीलाई टन्नै भइहाल्थ्यो । अनि विद्यालयमा टिफिनको समयमा ति अग्ला पातला राता वर्णका ‘चाकुवाला दाइ’ ले विक्री गर्न राखेका विभिन्न थरिका चाकुहरु टन्न किनेर खाइन्थ्यो, म कक्षा २ मा पढ्दा पनि ति चाकुवाल दाइ उस्तै देखिन्थे, म १० कक्षामा पुग्दा पनि उस्तै देख्थें तर पछिल्लो समय उनले पेशा परिवर्तन गरेर वरफ वेच्न थालेका थिए । हिजो आज साथीहरुको मुहार पुस्तिका (Facebook) मा वरफ, साइकल सहितको उनको पुर्ण कदको तस्विर हालेको देख्न पाइयो , अहिले हेर्दा पनि उनी त्यस्तै नै पाएँ, हामीलाई टिफिनमा मिठो चाकु खुवाउने ति चाकुवाला दाइको तस्विरलाई देख्दा मेरो शीर श्रद्धाले निहुरिन्छ । म सम्झन्छु एक पटक म संग १० पैसा मात्र थियो तर २ जना साथी थियौँ, अनि १० पैसाको एउटा पानी वरफ, (दुध वरफ लाई २५ पैसा पर्थ्यो जुन मेरा लागि दुर्लभै जस्तो हुन्थ्यो) किनेर पालै पालो अर्थात एक जनाले एक पटक चुस्ने अनि एक पट भुइमा वरफको थोपा चुहाए पछि अर्को जनाले चुस्ने गर्थ्यौँ । यसो गर्दा जुठो पखालिन्थ्यो रे, यो विज्ञान हामी आँफैँले पत्ता लगाएका थियौँ । यसप्रकार पनि हामी साथीहरु विचमा एक अर्कोमा सहयोगको भावना हुनेगर्थ्यो । प्रायजसो ५ पैसाको ५ ओटा आउने भित्र तोरीको दाना भएको रातो सानो मिठाइ चैँ खान पाइरहन्थ्यौँ । 

हामीलाई विद्यालयमा पढाउने गुरुआमाहरू रुका, टिका, गीता, गंगा, कामक्षा, यसोदा, वसन्ती, नव, चैन, विजया, नगीना, कुमकुम, मञ्जु गुरुआमाहरुको नाम अझै पनि याद छ भने कति जना गुरुआमारूको नाम विर्सिसकेको छु । यसैगरी नन्दन सर, शंकर सर, स्व.दिब्यराज सर, राधाकृष्ण सर, शुसील सर, हेमराज सर, ताजमन सर, तेजनाथ सर, केपी सर, वासुदेव सर, उत्तम सर, टंक सर, शिव सर, प्रेम सर, राजेन्द्र सर, सदानन्द सर, लक्ष्मी सर, रघुनाथ सर, हरि सर, स्व.एल. वी. सर, एस. एन. सर बद्रुदीन सर, स्व.डिल्ली सर, लिला सर, खडानन्द सर, शान्ति सर, भवानी सर, दधिराम सर, रोहिणी सर, लगायत कैयौँ अरु गुरूहरू पनि हुनुहुन्छ, उहाँहरु हम्रो लागि गुरु मात्र नभएर देवता नै हुनुहुन्छ, किनभने मैले सुनेको छु देवता र गुरु समान अरे । 

 मैले मेरो प्यारो विरेन्द्र मावि पढ्दाका मेरा अतितका कुराहरु स्मरण गरेँ, वास्तवमा मलाई लाग्छ यि घटनाहरु ममा मात्र हैन यस विद्यालयमा पढ्ने अग्रज एवं मित्रहरु सवैको संस्मरण हो । सबैले आ-आफ्नै किसिमले भोग्नु भएको छ, सबैको मन मस्तिकमा रहेको छ । विशेष गरी गुरु र गुरुआमाका अतिरिक्त मेरा सहपाठीहरु विमल भण्डारी, निर्मल न्यौपाने, राजेश नेपाल, मोहन न्यौपाने, चोमेन्द्र न्यौपाने, ममता लम्साल, निलम चापागाईं, सुनिता कार्की, सीता कार्की, प्रमोद आचार्य, गौरव पोख्रेल, हरि खड्का, उद्धव भण्डारी, जिवन श्रेष्ठ, भिम अधिकारी, सरोज कोईराला, प्रज्वल कोईराला, प्रशान्ती श्रेष्ठ, वैजनाथ कुर्मी, कल्पना न्यौपाने, नवराज अर्याल, भक्ती थापा, कृष्ण फुएल, ज्ञानेन्द्र कोइराला, सुनिल आचार्य, भक्ती राई, धर्म गौतम, केदार लोहनी, कमला कुवर, कमल मैनाली, ज्योती पोखरेल, ऋषीराम नेपाल, रुद्र दाहाल, पवित्रा ढकाल, कोषराज न्यौपाने, आनन्द खतिवडा, पुरुषोत्तम कट्टेल, सरोज वैद्य, जय तिम्सिना, विजय तिम्सिना, च्यवनमणी पोखरेल, ललित ढकाल, भुवन मास्के, लुना कोईराला, योगेश पौडेल, विनोद पौडेल, गौरी नेपाल, श्वेता पोख्रेल, माला अधिकारी, स्व.विकास सुवेदी, सविता सुवेदी, गौरव पोखरेल, राजन भट्टराई, सविता कार्की, पुजा थापा, शरदमणि दाहाल, नेत्र पोखरेल, तानसेन न्यौपाने, दुइ जना रमेश भट्रटराई, डेगराज लम्साल, मणीराम नेपाल, सुमन दाहाल अनिल चौहान, शुसील आले, पेशल कोईराला, हरीचरण घिमिरे, संजय महत्तो, डेगराज लम्साल, गोपाल भट्टराई, निराजन वस्नेत, विपिन थपलीया टार्जन गुरुङ, उमेश यादव, असोक कर्ण, शुक्रिता न्यौपाने, सल्लेरी, देउराली न्यौपाने, लिला आपागाई, खेमराज पौडेल, विष्णु पौडेल, गोपाल बुडाथोकी, कोपिला दाहाल, कल्पना दाहाल, स्व. टेकेन्द्र न्यौपाले, हंश राजवंशी, अर्जुन राजवंशी, चन्द्र दुलाल, ढाक्रु राजवंशी, दिनेश कोइराला, रवि वस्नेत, सृजना दाहाल, संजय श्रेष्ठ, मनोज गामी, मंजु भट्टराई, विन्दा प्रसाईं, उमा न्यौपाने लगाएतका अझै थुप्रै साथीहरुलाइ म सम्झने कोशिश गर्दछु जो सँग हामी पढ्ने खेल्ने गर्थ्यौँ । आजपनि अधिकांस साथीहरुसँग सम्पर्कमा नै छौँ तर मेरा २ वाल्यसखा ललीत ढकाल र भुवन मास्के सँग कक्षा ४ वाट आजसम्म सम्पर्क तथा भेट भएको छैन, उनहिरुको सम्झना सधैं मलाइ आइरहन्छ । 

विरेन्द्र माविमा कुनै कालखण्डमा अध्ययन गरिसक्नुभएका थुप्रै हजारौँ साथीहरु आज विश्वभरी छरीएर रहनुभएको छ । कति साथीहरु सरकारी माथिल्लो निकाय सम्म पग्नुभएको छ भने कति जना वरिष्ठ चिकित्सक, इन्जिनियर, व्यापारी, समाजसेवी, नेता हुनुभएको छ तर पनि उहाँहरु यहासम्म आइपुग्नुमा यस विरेन्द्र मावि तथा यहाँ अध्यापन गराउने गुरु एवं गुरुआमाको अमुल्य देन रहेको छ । यति मात्र हैन जसरी ठुला ठुला भवन निर्माण हुदा विषेश गरी सिमेन्ट, रड र गिट्टीको भुमिका र महत्व बढी देखिन्छ तर वालुवाको भुमिका नगन्य मानिन्छ तर वालुवा विना त्यो भवन खडा हनै सक्दैन, त्यसैगरी अप्रत्यक्ष रुपमा हामीलाई सेवा एवं सहयोग गर्ने हाम्रो स्कुलका जगेन राजबंशी, रुद्र न्यौपाने, सुब्बा दाई, चाकुवाल दाई, वयर बेच्ने आमा, वरफ वेच्ने दाइ, कोठा सफा गर्ने दाई समेतको उत्तिकै भुमिका हामीले कदापी विर्सन हुँदैन । हाल उहाँहरुको अवस्थाको वारेमा पनि हामीले सोच्नुपर्ने हुन्छ, हाम्रो पढाइका लागि उहाँले पुर्याउनु भएको भुमिका र योगदानको कदर हामीले गर्न सकेका छेनौ त्यसकारण यसतर्फ समेत हामी भुतपुर्व विद्यार्थीहरूले सोच्नुपर्ने हो की ............ अन्तमा कक्षा ६ मा हामीले पढेको भानुभक्त र घाँसी शिर्षकको घाँसीदाईले घाँस काट्दै गाएको दुई हरफ गित सम्झन चाहन्छु । 
      मरेर के लानु छ र, गरौं काम किर्ती राख्नलाई । 
       हतपति नआवस काल धोको पुरा गराइ छाड्नलाई ।। 

Any question?


वीरेन्द्र एलुम्नाई एसोसिएसन, काठमाडौं logo
Address
Kathmandu-7, Chabahil, Nepal
Phone
+977 9851009148
Email
alumnibirendra@gmail.com

About us

वीरेन्द्र एलुम्नाई एसोसिएसन, काठमाडौँ वीरेन्द्र माध्यमिक विद्यालय, चन्द्रगढी, झापाका पूर्व विद्यार्थीहरुको संगठन हो । पूर्व विद्यार्थीहरु बीच समन्वय गरी एकता कायम गर्नु, एक आपसमा परस्पर हित प्रवद्र्धन गर्नु र वीरेन्द्र माविको व्यवस्थापन सँग सहकार्य गरी विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय सुधारमा सहयोग गर्नु यस एलुम्नाईका उद्देश्यहरु रहेका छन् । यी उद्देश्यहरु पुरा गर्न संस्थाले विविध कार्यहरु गर्दै आएको छ । वि सं २०५७ सालमा स्थापित यो संस्थाले २०७२ सालमा नेपाल सरकारको ऐन बमोजिम औपचारिक मान्यता पाएको छ । परिणामस्वरुप स्थापनाकालदेखि समय समयमा गर्दै आएका कार्यक्रमहरुले पछिल्लो समयमा स्थायित्व पाउँदै गएका छन् । साथै थप नयाँ कार्यक्रमहरुले पनि संस्थाभित्र प्रवेश पाएका छन् ।
Follow us

Subscribe us

Please enter your email address to get latest updates on our activities.


© 2024 | वीरेन्द्र एलुम्नाई एसोसिएसन, काठमाडौं | All rights reserved
Powered by OIT